बाढी पहिरोका कारण अहिलेसम्म ५० जनाको ज्यान गएको छ । गृहमन्त्रालयले भने बाढी पहिरोमा परि ४० जनाको ज्यान गएको पुष्टि भएको जनाएको छ । अहिलेसम्म सुनसरीमा ९, रौतहटमा ६, मोरङमा ५, सिन्धुली र झापामा ४/४, सुर्खेत, सर्लाही, पाँचथर र बाँकेमा ३/३, बारा, मकवानपुर, दाङ र बर्दियामा २/२, तथा पाल्पा र धनुषामा एक/एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै बर्दियाका ९० प्रतिशत भन्दा बढी भूभाग डुबानमा परेका छन् । पानीको सतह बढिरहेकाले बाँकी क्षेत्र डुबानमा पर्ने जोखिम झनै बढेको छ । धुनषामा पनि सात सय घर डुवानमा परेका छन् । सप्तरीमा पनि सैयौँ घर डुबानमा परेका छन् । सरकारले बाढी पहिरो प्रभावितलाई तत्काल उद्धार गर्न निर्देशन दिएपनि लगातारको झरीका कारण कठिनाई भएको छ । टेलिफोन, बिजुली र प्रहरीको सञ्चार सेटमा खराबी आउँदा उद्धारमा कठिनाई भइरहेको हो । तराईका धेरैजसो बस्ती डुबानमा परेका छन् भने बाँकी रहेका केही बस्ती पनि डुब्ने खतरामा रहेको प्रहरीले जनाएको छ ।
मध्य र पश्चिमी क्षेत्रमा आज ठूलो पानी पर्ने
देशको मध्य र पश्चिमी क्षेत्रका धेरै ठाउँमा आइतबार ठूलो पानी पर्ने मौसमविदले बताएका छन् । पूर्वी क्षेत्रमा भने अघिल्ला केही दिनको तुलनामा केही भन्दा कम पानी पर्ने अनुमान छ ।
अहिले देशभरि नै पानी पारिरहेको यो प्रणाली सोमबारसम्ममा नेपालबाट बाहिरिने भएकाले सोमबार दिउँसोदेखि भने कम पानी पर्नेछ । तर झरी भने नरोकिने मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो ।
देशका धेरै मुख्य सडकमा पहिरो
झरी तथा बाढीपहिरोका कारण धेरै ठाउँमा गाडी चल्न सकेका छैनन् । मुख्य नाका मुग्लिन–नारायणगढ सडकखण्ड शनिबार दिउँसोदेखि खुलेको छैन भने पूर्वी जिल्ला जोड्ने विपी राजमार्ग पनि अबरुद्ध छ । यस्तै हेटौंडा निस्कने वैकल्पिक बाटो सिस्नेरी–फाखेल सडकखण्ड पनि अबरुद्ध छ ।
यस्तै मुग्लिनबाट पोखरा जाने बाटो खुलाउन भने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट मौवाखोला सडकखण्डमा सात ठाउँमा पहिरो खसेकाले तत्काल गाडी चलाउन नसकिने प्रहरीले जनाएको छ । झरीका कारण पहाडी जिल्लाका ग्रामीण भेगका बाटो पनि अबरुद्ध भएको छ । पहिरो र बाढीले देशका धेरैजसो ठाउँको सडक अस्तव्यस्त भएको छ ।
कुन कुन नदीमा खतरा बढी ?
नदी तटीय क्षेत्रका बासिन्दालाई अर्को सूचना नआएसम्म सुरक्षित ठाउँमा बस्न बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । आइतबार पनि विभिन्न नदीमा पानीको सतहले खतराको तह पार गर्ने संभावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको हो ।
सोमबार बिहानसम्म नै रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बागमती, पूर्वराप्ती, रिउ खोला, विनय खोला, अरुण खोला, तिनाउ, बाणगंगा लगायतका नदीमा उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।
No comments:
Post a Comment