Friday, August 25, 2017

नेपाल आइडलबाट सुजाता पाण्डेय बाहिरिइन्, यस्तो छ बुटवलदेखि टप फाइभसम्मको यात्रा

काठमाडौं, भदौ ९ – चर्चित नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलबाट टप फाइभमा पुगेकी आइडलकी एक्ली छोरी भनेर चिनिइने सुजाता पाण्डेय बाहिरिएकी छन् । तिलोत्तमा, रुपन्देहीकी २१ वर्षकी सुजाता बुटवल अडिसनबाट नेपाल आइडल प्रतियोगितामा प्रवेश गरेकी थिइन् । बिहीबार भएको प्रदर्शनका आधारमा दर्शकबाट कम भोट प्राप्त गरेकाले सुजाता बाहिरिएकी हुन् । 

अरुणा लामा, तारादेवी र मेलिना राईका गीत गाउन मन पराउने सुजाताले बुटवलकै बागेश्वरी संगीतालयबाट संगीत सिकेकी थिइन् । सानैदेखि गीत संगीतमा रुचि राख्ने उनी विद्यालयका कार्यक्रममा भाग लिने गर्थिन् । उनले सुरेश सेन्चुरीसँग शास्त्रीय गायन सिकेकी थिइन् ।
अडिसनमा सुजाताले ‘मेरो पाउमा आज कोही पाउजु बाँध’ र ‘ठमेल बजार’ बोलको गीत गाएकी थिइन् । तर अडिसनको दिन निर्णायकमध्येका एक न्हयू बज्राचार्यले सुजातालाई झुक्काएका थिए । उनले अर्काे राउण्डमा लैजान नसकिने भनेर झुक्काएका थिए । कुटुमा कुटुलगायतका गीत गाउँदै आएकी सुजाताको नेपाल आइडलको यात्रा आजबाट टुंगिएको छ ।
सुजाता पाण्डेयलाई बज्राचार्यले ‘टिकट पाएनौ भने कसलाई दोष दिन्छौ’ भनेर प्रश्न गरेका थिए । सुजातालाई भने आफू अर्को चरणमा प्रवेश गर्नेमा ढुक्क भए पनि निर्णायकको कुरा सुनेपछि उनका आँखा रसाएका थिए । उनले आफू अडिसनबाट बाहिरिए आफ्नै तयारी नपुगेको सम्झने बताएकी थिइन् । तर पछि उनीसँग इन्दिरा जोशी र बज्राचार्यले मजाक गरेका रहेछन् भन्ने कुराको खुलासा भयो । 
त्यसपछि हरेक प्रस्तुतिबाट दर्शकको मन जित्न सफल सुजाता नेपाल आइडलको टप फाइभसम्मको यात्रामा रहँदा सबैको माया जित्न सफल भइन् । उनी दर्शकको मात्रै होइन्, आफ्नै प्रतिष्पर्धी प्रतियोगीसँग पनि उनको सम्बन्ध निकै नै राम्रो थियो । प्रत्येक एपिसोडमा आफूलाई निखार्दै लगेकी सुजाता नेपाल आइडलबाट बाहिरिए पनि गीत संगीत क्षेत्रबाट बाहिरिने छैनन् ।
गत हप्ता सुरज थापा बाहिरिएपछि सुजाताले फेसबुकमा लेखेकी छन्, ‘म नेपाल आइडलको उत्कृष्ट ५ मा परेको भन्दा दोब्बर दुःख आदरणीय दाई सुरज थापा बाहिरुनुमा छ । के गर्नु दाइ आइडलको नियम नै यस्तै छ । उज्जवल भविष्यको कामना दाइलाई ।’ त्यस्तै सुजाताले जनताको भोटले सुरज थापा आइडल नबने पनि गायन कलाको हिसावले उनी पनि नेपाल आइडल भएको कुरा फेसबुकमा लेखेकी थिइन् । 
एउटा उपाधि हात नपारे पनि उनको उज्जवल सांगीतिक भविष्य तय भएको छ । गत हप्ता बाहिरिएका सुरज थापा, नेपाल आइडलबाट बाहिरिएकी मेनुका पौडेलको प्रस्तुतिले दर्शकलाई भावुक बनाएको थियो । सुरज थापाले त अघिल्लो हप्ता नै रुवाइसकेका थिए, शुक्रबार रुवाउने पालो थियो सुजाताको । कसैको सम्पूर्ण प्रतिभा केवल  एउटा प्रतियोगिताबाट मुल्यांकन गर्न सकिँदैन । यो त प्रतियोगिताको नियम हो कि एकजनालाई आइडल बनाउनुपर्ने ।
नेपाल आइडलमा यस अघि नै बाहिरिएका प्रतियोगीहरु नेपाली सांगीतिक क्षेत्रमा स्थापित नामसमेत पनि छन् । कोही स्थापित हुने क्रममा छन् । धेरै प्रतियोगीहरु नेपाल आइडलबाट बाहिरिए पनि स्टेज प्रोग्राममा व्यस्त भएका छन् । 
शुक्रबार अतिथि निर्णायकका रुपमा आएका गायक रामकृष्ण ढकालको उपस्थितिमा भएको सांगीतिक माहोलमा थुप्रै सम्झनलायक कुरा पनि भए । मञ्चबाट ढकालले मेनुका पौडेलसँग युगल गीत गाउने वाचा गरेका छन् । रामकृष्ण ढकालले भने झैँ नेपाल आइडलमा जसले जिते पनि बाहिर त खुला बजारमा प्रतिष्पर्धामा सबै उत्रनुपर्नेछ । त्यसैले सुजाता पाण्डेय पनि नेपाल आइडलबाट शुरु भएको छ । उनीबाट नेपाली सांगीतिक क्षेत्रको विकासका लागि धेरै कुरा आशा गर्न सकिन्छ । 
अब नेपाल आइडलमा प्रताप दास, निशान भट्टराई, सागर आले र बुद्ध लामा बाँकी रहेका छन् । आउँदो हप्ता एक जना प्रतियोगी नेपाल आइडलबाट बाहिरेनेछन् । नेपाल आइडलको ग्रान्ड फिनाले भने कतारको दोहामा हुने आयोजकले जनाएको छ । फिनालेमा तीन जनाका साथै टप १२ मा पर्न सफल सबै कलाकार कतारको दोहामा जानेछन् ।

No comments:

Post a Comment