Sunday, July 23, 2017

अनुसन्धान केन्द्रका लागि सहयोग गर्न महावीरको आग्रह


राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा जुटेका महावीर पुनले यस परियोजनाका लागि सहयोग गर्न अस्ट्रेलियामा रहेका नेपालीहरुलाई आग्रह गरेका छन् ।
महत्वकांक्षी योजनाअनुसार नेपालमा निर्माण गर्न लागेको अनुसन्धान तथा विकास कार्यक्रम परियोजनाका लागि उनले एनआरएनलगायत यहाँ रहेका सबै नेपालीहरुलाई तीन किसिमले सहयोग पुऱ्याउन आग्रह गरेका हुन् । ‘तपाईहरुले वुद्धि, आर्थिक र समयको थोरै थोरै मात्र दान गरिदिनुभयो भने यो केन्द्र निर्माण हुने मात्र नभएर देश विकासमा नै ठूलो महत्व राख्नेछ ।’एनआरएन अस्ट्रेलिया ले ब्रिसवनमा शनिबार गरेको साधारणसभामा उनले सहयोग पटक पटक नभई मात्र एकपटकका लागि गरिदिन अनुरोध समेत गरे ।

रयामोन म्यागसेसे पुरस्कार विजेता पुन अहिले सोही परियोजनाका बारेमा बुझाउन र सहयोग जुटाउन अस्ट्रेलियामा छन् । एनआरएनको निमन्त्रणामा यहाँ आइपुगेका उनले यहाँको सबै राज्यहरुमा रहेका नेपालीहरुसँग भेट्ने र परियोजनाका बारेमा छलफल गर्ने बताएका छन् । उनले यो परियोजना समाजसेवा मात्र नभई देश विकासको फरक परियोजना भएको दाबी गरे । ‘यो परियोजना नेपालका लागि र सबै नेपालीहरुले आफ्नो देशलाई धनी बनाउनका लागि सुरु गरिएको हो’ उनले कार्यक्रममा भने । 
एनआरएनलगायत संस्थाहरुलाई उनले यो परियोजना नेपाल सरकारलाई उपहारका रुपमा दिन आग्रह समेत गरे । उनले एनआरएनलाई यो केन्द्र निर्माणको परियोजनालाई आफ्नो कार्यक्रम बनाउन अनुरोध समेत गरे । उनले आविष्कार केन्द्र निर्माण सम्पन्न भइसकेपछि सरकारलाई नै सञ्चालनको लागि जिम्मा दिने जानकारी दिँदै पुनले यस किसिमका परियोजनाहरु निर्माण नभई देश विकास नहुने दाबी समेत गरे ।
 
करिब एक साताअघि अस्ट्रेलिया आइपुगेका पुनले ब्रिसवनमा प्राध्यापकहरु, विद्यावारिधी पाएका नेपाली विज्ञ र नेपाली समुदायका ब्यक्तिहरुसँग अन्तर्क्रिया गरेका थिए । 

No comments:

Post a Comment